Blog

ट्राइग्लीसेराइड (TG) नियन्त्रण गर्न के नखाने

blog-detail-img
|
  Jan. 28, 2021
39601
Views

Click here to download mobile App

खानाबाट ट्राइग्लीसेराइडको नियन्त्रण गर्न सबभन्दा पहिला सैचुरेटेड फ्याट र टान्स फ्याटको प्रयोगलाई न्यून गर्नुपर्छ । बनस्पतिबाट नै प्राप्त  हुने रेसादार खाना बढी खानुपर्छ । रिफाइन्ड कार्बोहाइट्रेड (जुन जंकफुडमा पाइन्छ) लाई कम र प्राकृतिक कम्प्लेक्स कार्वाेहाइट्रेड (जुन वनस्पतीबाट प्राप्त हुन्छ) बढी प्रयोग गर्नुपर्छ । जनावरबाट प्राप्त हुने खाना (मासु, दुध) कम खाने र वनस्पतीबाट प्राप्त हुने खाना धेरै खाने गरेमा कोलेस्ट्रोल नियन्त्रण गर्न सजिलो हुन्छ I

भात कम खाने

भातमा  कार्बोहाइट्रेड बढी हुने भएको ले यसको जती कम प्रयोग गरिन्छ, उत्ति नै  स्वस्थकर हुन्छ । भात बढी खानेहरुमा ट्राइग्लीसेराइड बढी हुने र राम्रो  कोलेस्ट्रोल कम हुने गरेको पाइन्छ । भातको धेरै प्रयोगले मधुमेह लगायत  भविष्यमा मुटु रोगको पनि खतरा बढाउँछ । ट्राइग्लीसेराइडलाई नियन्त्रण गर्न भात थोरै खानु लाभदायक हुन्छ । दिनमा एक पटक भात र एक पटक रोटी, मकै खानु  राम्रो उपाय हुनसक्छ । 

दूध, दहि, घ्यू कम खाने 

दुधको  प्रयोगले ट्राइग्लीसेराइड बढ्ने सम्भावना हुन्छ । दुधबाट बन्ने अन्य परिकारको प्रयोगले पनि ट्राइग्लीसेराइड बढ्न सक्छ । त्यसैले ट्राइग्लीसेराइडको नियन्त्रणको लागि खानामा दुध र दुधजन्य खानाको प्रयोगलाई  न्यून गर्न जरुरी हुन्छ । कम चिल्लो दुध थोरै मात्रामा खान सकिन्छ ।  

डा. ओम मूर्ति अनिलका भिडियो लेखहरु हेर्न यहाँ लिंकमा वा माथिको फोटो क्लिक गर्नुस

दुधभन्दा दही र महिमा फ्याट कम हुने भएकोले, चिल्लो कम दही र महिको प्रयोग  गर्न मिल्छ । तर कोलेस्ट्रोलको औषधि सेवन गर्नु भन्दा दुध नखानु नै राम्रो  उपाय हो । राती सुत्ने बेलामा दुध खाने बानी हटाउँन जरुरी हुन्छ । घ्युमा  सैचुरेटेड फ्याट बढी भएकाले खानु नै हुँदैन । बनस्पती घ्युमा टान्स फ्याट  बढी भएकोले खाने सोच्नु पनि हुदैन ।

खाने तेल कम खाने    

खाने  तेलमा अन सैचुरेटेड फ्याट बढी हुन्छ जसले कोलेस्ट्रोलमा धेरै नराम्रो असर त  गर्दैन, तर यसको प्रयोग पनि बढी गरिएमा ट्राइग्लीसेराइड बढ्ने र मोटोपना  हुने संभावना बढी हुनसक्छ । त्यसैले यसको प्रयोग पनि सकेसम्म कम गर्नुपर्छ ।

अण्डा नखाने 

अण्डाको पहेलो भागले कोलेस्ट्रोल बढाउँछ । त्यसैले उच्च कोलेस्ट्रोल भएकाले पहेलो भाग खानु हुदैन, तर सेतो भाग जती खादा पनि हुन्छ ।

कुखुराको मासु कम खाने       

धेरै मानिसमा कुखुराको मासुले कोलेस्ट्रोल बढाउँदैन भन्ने भ्रम भएको देखिन्छ ।  कुखुराको छाला र भित्री भागमा बोसो अत्याधिक हुन्छ । कुखुराको मासुले पनि कोलेस्ट्रोल÷ट्राइग्लीसेराइड बढाउँछ । कोलेस्ट्रोलको समस्या भएका व्यक्तिले  छाला नभएको मासुमा कम तेलको प्रयोग गरी थोरै मात्रामा खान मिल्छ । सामान्य व्यक्तिले पनि हप्तामा एक पटक भन्दा बढी कुखुरा खानु हुँदैन ।

रातो मासु नखाने 

यसमा प्रसस्त सैचुरेटेड फ्याट भएकोले उच्च कोलेस्ट्रोलको बिरामीले रातो मासु  भने कहिले पनि खानु हुँदैन । सामान्य व्यक्तिले पनि थोरै मात्रामा महिनामा  बढीमा एक पटक भन्दा बढी खानु हुदैन ।

जंकफुड नखाने

रेडिमेड  र फास्टफूडहरु (जुन पसलबाट किनेर ल्याइन्छ), भुटेको वा तारेको खाना,  आइसक्रिम, केक, पेस्ट्रिज, मिठाई आदि खानामा सैचुरेटेड फ्याट र ट्रान्स  फ्याट बढी पाइन्छ छ र यसमा क्यालोरी पनि अत्याधिक हुन्छ । ट्राइग्लीसेराइडको नियन्त्रणको लागि यस्तो खाना हानिकारक भएकोेले सकेसम्म  यसको प्रयोग गर्नु हुँदैन ।

मिठाई नखाने 

यसमा  दुध, चिनी र तेलको प्रेयोग गरिएको हुन्छ । यसको प्रयोगले ट्राइग्लीसेराइडलको स्तरमा नराम्रो असर पर्छ । त्यसैले यसलाई न्यून  मात्रामा मात्र प्रयोग गर्नुपर्छ । मिठाईमा क्यालोरी बढी हुनाले मेटोपनको संभावना पनि बढी हुन्छ । ट्राइग्लीसेराइडको नियन्त्रणको लागि मिठाई नखानु राम्रो हो ।

रेस्टुरेन्ट तथा पार्टी

रेस्टुरेन्ट  तथा पार्टीमा तेल र घ्यूको प्रयोग बढी गरिनुको साथै यसको गुणस्तर पनि भरपर्दो नहुन सक्छ । यस्तो खाना स्वास्थ्यको लागि राम्रो मानिदैन । कोलेस्ट्रोल नियन्त्रण गर्नको लागि घर बाहिरको खाना अत्यन्तै कम खानु पर्छ ।

गुलियो खाना कम खाने       

जुन  खाना वा पेय पदार्थमा चिनीको मात्रा बढी हुन्छ त्यस्तो खाना खानु हुँदैन । कोण्डड्रिंक्स÷जुस आदिको प्रयोगले पनि ट्राइग्लीसेराइड बढाउने संभावना हुन्छ । सकेसम्म चिनी मिसाइएको जुनसुकै खाना भएपनि नखानु वा थोरै खानु  राम्रो हो ।

चिया-कफी कम खाने       

यसमा  पनि चिनी तथा दुधको प्रयोग गरिएको हुन्छ, जुन कोलेस्ट्रोल उच्च भएका  व्यक्तिका लागि उत्तम मानिदैन र यसमा क्यालोरी पनि बढी हुन्छ । त्यसैले दुध  भएको चिया दिनमा एक पटक भन्दा बढी खानु हुँदैन ।

मदिरा नखाने 

जुनसुकै  मदिरामा क्यालोरी बढी हुन्छ, जसले मोटोपना गराउँछ । अत्याधिक मदिरा,  वियरको प्रयोगले रगतमा ट्राइग्लीसेराइडको स्तर बढाउँछ । उच्च कोलेस्ट्रोल र ट्राइग्लीसेराइडको नियन्त्रणको लागि मदिराको प्रयोग नगर्नु नै राम्रो  मानिन्छ भने अत्याधिक प्रयोग गर्नेहरुले मात्रामा नियन्त्रण गर्नु जरुरी  हुन्छ ।

मधुमेह,  उच्च रक्तचाप, मुटुरोग, मस्तिष्क रोग, मृर्गौला रोग, मोटोपन आदिले पिडितले  मात्रै हैन, एउटा स्वस्थ नवयुवकले पनि आफूले खाने खानाको गुण र अवगुणमा  ध्यान दिनु जरुरी हुन्छ । घरको खाना, शाकाहारी खाना र बनस्पतिबाट प्राप्त  हुने खानाको प्रयोग गरेमा कोलेस्ट्रोलको समस्या हुँदैन र औषधिको मात्रा  घटाउँने र बन्दै गर्न मिल्ने पनि हुनसक्छ ।